कोरोना भाइरस : मृत्यु हुनेको संख्या २५९ पुग्यो
(काठमाडाैँ) विश्वव्यापी बन्दै गइरहेको ‘कोरोना भाइरस’बाट चीनमा मृत्यु हुनेहरुको संख्या हालसम्म २५९ पुगेको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जारी गरेको विवरण अनुसार भाइरसबाट प्रभावित हुनेको संख्या भने ११ हजार ७ सय ९१ पुगेको छ । आयोगले बिरामी भएकामध्ये १७ सय ९५ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
अरू १७ हजार ९८८ जनालाई पनि कोरोनाभाइरसकै संक्रमण भएको आशंकामा परीक्षण गरिएको छ । उनीहरुको परीक्षणको नतिजा भने आइ नसकेको बताइएको छ । बिरामी भएकामध्ये कुल २४३ जनालाई उपचारपछि अस्पतालबाट फिर्ता गरिएको स्वास्थ्य आयोगले जनाएको छ । आयोगकाअनुसार शुक्रबार मात्रै २१ सय दुईजना नयाँ संक्रमित भेटिएका छन् भने पाँच हजार १९ जनालाई शंकाको घेरामा राखेर परीक्षण भइरहेको छ ।
चीनकोे मध्य क्षेत्रमा पर्ने वुहान सहरमा सबैभन्दा पहिले देखिएको कोरोनाभाइरसको संक्रमण अहिले संसारका दुई दर्जनभन्दा बढी देशहरुमा फैलिइसकेको छ ।
भाइरसको प्रकोप फैलिँदै गएपछि विश्व स्वास्थ्य संगठनले आपत्कालीन अवस्थाको घोषणा गरेको छ भने विभिन्न देशले चीनसँगको नाकाबाट हुने आवत–जावतलाई कडाइ गरेका छन् ।