राप्ती र नारायणीमा ३ गोही मृत फेला, मानिसले नै मारेको आशंका
(चितवन) राप्ती र नारायणी नदीमा गत वर्ष छाडिएका तीन गोही मरेको अवस्थामा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका यी दुई नदी र भंगालाहरुमा गरिएको अनुगमनका क्रममा सात गोही जालमा बेरिएको अवस्थामा समेत फेला परेका छन् ।
निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार नारायणीको गोलाघाट क्षेत्रमा दुईवटा र राप्तीको बाराही होटल नजिकै एउटा गोही मृत अवस्थामा भेटिएको हो । ती गोही मर्नुका कारण पत्ता लगाउन पोष्टमार्टम गर्न अंग पठाइएको छ । उनले भने, ‘मर्नुको कारण यहाँ पत्ता नलागे विदेशी विज्ञहरुसँगसमेत परामर्श गर्ने तयारीमा छौँ ।’
ती तीनै वटा गोही गत साल नदीमा छाडिएका हुन् । यसअघि यसै वर्ष दुईवटा गोही मरेको अवस्थामा भेटिएका थिए ।
मानिसले मारेको आशंका
संरक्षण अधिकृत खड्काका अनुसार भदौमा राप्तीको ढुङ्ग्रे खोलामा पुछर र सेटेलाइट मात्रै फेला परेको थियो । त्यस्तै असोजमा निलडामसहित अमलटारी क्षेत्रमा नारायणी नदीमा एउटा गोही फेला परेको थियो । यी दुवै गोही सेटेलाइट जडान गरी छाडिएका हुन् । मानिसले गोही मारेर खाएको आशंका समेत गरिएको जनाइएको छ ।
राप्तीमा चारवटा र नारायणीमा तीन गोही जालमा बेरिएको अवस्थामा भेटिएका छन् । ती गोहीलाई नियन्त्रणमा लिएर जाल हटाउने काम आजबाट थालिने निकुञ्जले जनाएको छ ।
ती दुई नदीमा भाले गोही नभएपछि बबहीबाट एउटा भाले गोही ल्याइएको थियो । अनुगमनका क्रममा बबहीबाट ल्याइएको समेत तीन ठूला र दुई साना भाले गोही देखिएको उनले जानकारी दिए । यससँगै नदीमा भाले गोहीको अभाव हटेको छ ।
निकुञ्जले दुई नदी र भङ्गालालाई १३ भागमा विभाजन गरेर १२ वटा टोलीले डुङ्गामार्फत र एउटाले पैदल अनुगमन गरेको थियो । तीन दिनसम्म गरिएको अनुगमन शनिबार साँझ सकिएको हो । अनुगमनमा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञसहित ६५ जना सहभागी थिए । निकुञ्ज बाहिरको नारायणी नदीको देवघाटदेखि सिख्रौलीघाटसम्म केही दिनमा नै अनुगमन गरिने निकुञ्जले जनाएको छ । नारायणीको भेलौजीमा एउटा डल्फीनसमेत भेटिएको थियो ।