चीनमा अध्ययरत नेपाली विद्यार्थीका अभिभावकको चिन्ता र चासोप्रति सरकारको सम्बोधन
(काठमाडौं) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा रहेका नेपाली विद्यार्थीहरुको स्वास्थ्य तथा अभिभावकहरुको चिन्ता र चासोलाई सम्बोधन गर्न एवं उद्दार तथा सुरक्षित व्यवस्थापन गर्न थप आवश्यक गृहकार्य गर्न निर्देशन दिएको छ ।
शनिबार प्रधानमन्त्री केपीशर्मा ओलीको विशेष उपस्थितिमा सरोकालवाला मन्त्रालयका मन्त्री, मुख्य सचिवतथा सचिवहरुको उपस्थितिमा बसेको बैठकले चीनमा रहेका नेपाली विद्यार्थीहरुको स्वास्थ्य अवस्थाबारे नियमित जानकारी लिन, उद्दार तथा सुरक्षित व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो । स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै बेइजिङस्थित नेपाली दूतावासले वुहानमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित तवरले नेपाल ल्याउनका लागि फारम भर्ने सूचना जारी गरेको सन्दर्भमा उल्लेखित विवरणहरु ग्रहण गर्नसमेत आग्रह गरेको छ ।
जारी विज्ञप्तीमा चीनबाट प्रस्थान गर्ने विमानस्थलमा स्वस्थ्य परीक्षण हुने उल्लेख गरिएको छ । साथै त्यहाँबाट नेपाल आउने यात्रुको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ परीक्षण गरी संक्रमित यात्रुलाई उपत्यकाका तोकिएका अस्पतालहरुमा आइसोलेशन वार्डमा राखेर उपचार गरिने जनाइएको छ ।
त्यस्तै, अन्य यात्रुलाई पनि दुई सातासम्म निगरानीका लागि छुट्टै स्थान (क्वारेटाइन)मा राखिने पनि जानकारी गराइएको छ । यसैबीच प्रधानमन्त्री एवं नेकपाका अध्यक्षओलीले चीनको वुहानबाट उद्धार गरी ल्याइने नेपालीहरुलाई सुरक्षित स्थानमा राख्ने प्रबन्ध गरेको बताउनुभएको छ ।
उहाँले पाँचदिनदेखि जारी पार्टीको केन्द्रीय सदस्यको दोस्रो पूर्ण बैठकमा कोरोना भाइरसका प्रकोपका कारण चीनमा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा उद्दार गरी ल्याउने बताउनुभएको हो । विश्वभर त्रास फैलाएको कोरोना भाइरसबाट चीनमामात्र ज्यान गुमाउनेको संख्या ३०४ पुगिसकेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरस चीनमामात्र १४ हजारजनामा संक्रमण देखिएको उल्लेख गरिएको छ । त्यस्तै विश्वका अन्य २४ मुलुकमा पनि देखा परिसकेको उल्लेख गरिएको छ ।