सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
(काठमाडौं) सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा सोमबार सुनुवाई नसकिएपछि सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासमा सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्नताको आरोप लागेका सापकोटालाई सभामुख नियुक्त नगर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
आइतबार पहिलो पेशी तोकिएको उक्त मुद्दा न्यायाधीश हरि फुयालको इजलासमा परेको थियो । तर फुयालले हेर्न नमिल्ने भई स्थगित भएको मुद्दा सोमबार न्यायाधीश मल्लको इजलासमा सोमबारदेखि सुनुवाई सुरु भएको हो ।