रानीपोखरी शिलान्यासको ४ वर्ष पूरा
(काठमाडौं) १९९० साल माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा नेपालको धर्ती जोडले हल्लिएको थियो । यसलाई आज पनि ‘९० सालको भुइँचालो’ भनेर सम्झिने गरिन्छ ।
त्यही भुइँचालोको सम्झनामा हरेक माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालियो । तर २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान गयो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए ।
आज २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । चार वर्षअघि यही दिवस पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ सालको भूकम्पले भत्काएको रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । तर, अहिलेसम्म पुनर्निर्माण सकिएको छैन ।
विभिन्न समयमा आएका बाधा–अवरोध र सरकारी ढिलासुस्तीका कारण पनि रानीपोखरीको पुनर्निर्माण लम्बिएको हो । पहिले काठमाडौं महानगरपालिकाले आफैं पुनर्निर्माण शुरु गरेको थियो । महानगरले निर्माण गरिरहँदा पुरातात्विक सम्पदामा आधुनिक निर्माण सामाग्रीहरु प्रयोग गरिएको भन्दै तीव्र आलोचना भयो । यतिसम्म कि काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी नै दुई कित्तामा उभिए ।
त्यसबेला विरोधकर्ताहरुको माझमा उभिएर उपमेयर खड्गीले रानीपोखरीमा तालासमेत लगाइन् । अन्ततः रानीपोखरी पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिइयो । अहिले भने काम धमाधम भइरहेको छ । प्राधिकरणका अधिकारीहरुले आगामी वैशाखमा काम सकिने दावी गरेका छन् ।