सीमा विवादमा नेपालले पठाएको कूटनीतिक नोटमा भारत ‘मौन’
(काठमाडौं) लिम्पियाधुरासहित कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटेर जारी गरेको नयाँ राजनीतिक नक्साविरुद्ध नेपालले कूटनीतिक नोट पठाएको तीन साता बितेको छ ।
तर भारतले अहिलेसम्म कुनै जवाफ दिएको छैन । बुधबार सीमा बचाऔं अभियानका प्रतिनिधिहरुसँग भएको भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले पठाएको ‘कूटनीतिक नोट’को भारतबाट कुनै जवाफ नआएको पुष्टि गरेका हुन् ।
भारतले नयाँ नक्सा जारी गरे लगतै विरोध गरेको नेपालले मंसिर पहिलो साता कूटनीतिक नोट पठाएको थियो । परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘नेपालले पठाएको कूटनीतिक नोटको रेस्पोन्स अपेक्षित छ तर, यति नै समयमा आउनुपर्छ भन्ने चाहिँ होइन ।’
परराष्ट्र मामिलाका जानकार दिनेश भट्टराई पनि नेपालले पठाएको ‘कूटनीतिक नोट’को जवाफ अपेक्षित रहेको बताउँछन् । नेपालले पठाएको कूटनीतिक नोट आफूले नहेरेकाले त्यसमा के छ भन्ने भन्न नसक्ने भन्दै उनले भने, ‘पक्कै त्यसमा वार्ताको प्रस्ताव गरेको हुनुपर्छ । यसरी कूटनीतिक नोट पठाइसकेपछि भारतले जवाफ दिनुपर्थ्यो ।’
जवाफ दिन ढिलाइ गर्नुले भारत सीमा विवादमा वार्ता गर्न इच्छुक छैन भन्ने देखिएको उनको विश्लेषण छ । ‘अब हामीले हाम्रो कूटनीतिक नोटको अवस्था के छ भनेर सोध्ने काम पनि होला । राजनीतिक रुपमा सम्वाद गर्ने बाटो त छँदैछ’ उनले भने । भारतले नयाँ जारी गरेलगतै भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले विदेश सचिवलाई भेटेर नेपालको धारणा राखेका थिए । त्यसबेला उनले दुई देशका परराष्ट्र सचिवस्तरीय संयन्त्रमा कुराकानी गरौंला भने पनि यो बैठक कहिले बस्ने टुंगो लागेको छ ।
राजनीतिक दलहरुले प्रधानमन्त्रीले भारतीय समकक्षीसँग सम्वाद गर्नुपर्नेमा जोड दिए पनि हुन सकेको छैन ।