डेपुटी गभर्नरको बर्खास्तीबारे छलफल गर्न राष्ट्र बैंकको बोर्ड बैठक बस्दै
(काठमाडौं) नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई बर्खास्त गर्ने/नगर्ने भन्ने विषयमा छलफल गर्न राष्ट्र बैंकको आज बोर्ड बैठक बस्ने भएको छ । श्रेष्ठलाई बर्खास्ती गर्ने प्रक्रिया मन्त्रिपरिषद्बाट नै अगाडि बढिसकेको भन्दै अर्थ मन्त्रालयले जानकारी गराएपछि गभर्नर डा. चिरञ्जीवी नेपालले आइतबार सञ्चालक समित बैठक बोलाएका हुन् ।
नेपाली कांग्रेसको कोटाबाट डेपुटी गभर्नर बनेका श्रेष्ठको काम–कारवाहीबाट अर्थमन्त्री डा. युवराज खतिवडा असन्तुष्ट थिए । अर्थमन्त्रीको सन्देश डा. राजन खनालमार्फत गभर्नर कार्यालयसम्म पुर्याएको स्रोतले बताएको छ ।
डा. खनाल अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्ने राष्ट्र बैंक सञ्चालक समितिका सदस्य हुन् । स्रोतका अनुसार, डेपुटी गभर्नरमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा असहयोग गरेको आरोप छ ।
राष्ट्र बैंकका दुई डेपुटी गभर्नरमध्ये बैंक तथा वित्तीय संस्थाको सुपरीवेक्षणलगायत श्रेष्ठको जिम्मामा छ भने अर्का डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको नियमनलगायत हेर्दै आएका छन् ।
०७२ फागुनमा श्रेष्ठ नेपाली कांग्रेस कोटामा डेपुटी गभर्नर बनेका थिए । सिवाकोटी भने नेकपा लाइनका हुन् । बर्खास्त गर्नका लागि सञ्चालक समितिले निर्णय गर्नुपर्ने हुन्छ ।
आइतबारको बैठकमा सोही विषयमा छलफल हुने भए पनि निर्णय भने नहुने गभर्नरको कार्यालयका एक अधिकारीले बताए । ‘आज बस्ने बैठकमा बैंकको मर्जर मुख्य एजेण्डा हो । यद्यपि, यो विषयमा पनि छलफल हुनेछ’ ती अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘तर आजै निर्णय हुँदैन । सबै सञ्चालकहरूको राय लिएर गभर्नर सा’पले छानबिन समिति बनाउन सक्नुहुनेछ ।’