देउसी-भैलीबाट संकलित रकम घाइते बालकलाई
(काठमाडौं) नेपाल विद्यार्थी संघ (नेविसंघ)ले देउसी–भैली खेलेर संकलन गरेको रकम करेण्ट लागेर गम्भीर घाइते मुगुका बालकलाई हस्तान्तरण गरेको छ। नेविसंघ मुगुका नेता धर्मराज शाहीको अगुवाइमा नेविसंघले देउसी-भैलीबाट संकलन भएको ३०,२०० तीस हजार दुई सय रकम बिहीबार कीर्तिपुर अस्पतालमा गएर आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्।
गत कात्तिक ७ गते मुगुको ताल्चामा विद्युतको तारमा करेन्ट लागेर घाइते भएका कार्कीबाडा निवासी-१३ वर्षीय बालक निखिलकुमार बुढालाई नेविसंघले सहयोग गरेको नेता शाहीले बताए। सहयोग पाउँदा बिरामीकी आमाले भक्कानिँदै आफ्ना माइती भेट्टाएको बताएकी छिन्। उपस्थित नेविसंघका नेताहरूले मानवसेवा ठूलो धर्म भएकाले मानवसेवाका लागि थोरै भए पनि सहयोग गरेको बताए।
सहयोग गर्न नेविसंघका निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमाल, नेविसंघ केन्द्रीय सदस्य पुनम लामा, नेविसंघ केन्द्रीय सदस्यहरु प्रेमिका राना मगर, अर्जुन बम, शुसील तिमिल्सिना, एलिजा ढकाल, सुमन बुढामगर, श्याम चन्द्र अधिकारी, भुवन भट्ट, शुसील घोडाशैनी, कविराज शाही लगायत रहेका थिए।
\