राजधानीवासीका लागि २५ लाख माला आवश्यक
(काठमाडौं) यस वर्षको तिहारमा सानाठूला गरी तीन लाख माला भारतबाट आयात हुने अनुमान गरिएको छ । राजधानीमा बसोबास गर्ने नेपालीका लागि वर्षैपिच्छे भारतबाट माला आयात हुने गरेको तथ्याङ्क छ ।
नेपालमा लगातार गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी भएको २३ वर्ष पुगेको छ । आयातमा भने कमी आएको छैन । विसं २०५३ देखि फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै आएको हो । राजधानीवासीका लागि भाइटीकाको दिन झण्डै २५ लाख मालाको आवश्यक पर्ने फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का महासचिव विश्वमणि पोखरेलले राससलाई जानकारी दिए ।
नेपाली फूलको माग तिव्बत, मलेशिया, अमेरिका, थाइल्याण्डमा भए पनि उत्पादनभने बढाउन सकिएको छैन । पूmलखेती व्यावसायिक ढङ्गले शुरुआत भएको २५ वर्ष पुगेको छ । सन् २०११ बाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा शुरु भएको फूल व्यवसाय आर्थिक वर्ष २०७५/७६ सम्म पुग्दा ४३ जिल्लामा विस्तार भएको छ ।
फ्यानका अध्यक्ष कुमार कसजुले गत वर्ष झन्डै रु २० करोडको विभिन्न जातका फूल आयात भएको बताए । फूलको माग दैनिक बढिरहेको भए पनि उत्पादनमा भने खासै वृद्धि हुनसकेको पाइँदैन । चार वर्ष पहिले नेपालले भारतबाट रु चार करोड मूल्य बराबरका विभिन्न फूल आयात गरेको तथ्याङ्क पाइन्छ । तथ्याङ्कलाई केलाउँदा नेपालमा वर्षको पाँच करोडका दरले फूलको आयात बढ्दै गएको देखिन्छ ।
भौगोलिक विविधता र अनुकूल वातावरणका कारण नेपालमा थरिथरिका आकर्षक पूmलखेती गर्न सकिन्छ र पनि अर्काको देशबाट आयात भइरहेकाले पुष्पखेतीतर्फ भने खासै आकर्षण देखिँदैन । यहाँ तिव्बत, मलेशिया, अमेरिका, थाइल्याण्डलगायतका मुलुकबाट नेपाली जातका फूलको माग भएको बताइन्छ ।
पहिलोपटक विसं २०७२ मा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपाल व्यावसायिक पुष्पखेती सर्वेक्षण २०७२÷७३ ले ३६ जिल्लामा ५६१ व्यवसायीले पुष्पखेती सञ्चालन गरेको उल्लेख छ । त्यसको चार वर्षमा जम्मा २३९ व्यवसायी वृद्धि भई हाल ८०० पुगेका फ्यानले जनाएको छ । चार वर्ष पहिले १४३ हेक्टरमा खेती भएको पुष्पखेती हाल १४९ हेक्टरमा विस्तार भएको छ । ३८ हजारले रोजगार पाएकामा चार वर्षपछि ४३ हजार व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।
नेपालमा भूमिमाथिको द्वैध स्वामित्वको अन्त भएको छैन । सीमित व्यक्तिका हातमा प्रचुर जमीन छ । पर्याप्त जमीन भएकाले जमीन बाझै राख्ने चलन छँदैछ । सरकार भने भूमि बाझो राख्नेलाई कानूनका दायरमा ल्याउन सकेको छैन । त्यसैले गर्दा फूलमा समेतको परनिर्भरता बढेको छ । हाल १० लाख हेक्टर जमीन बाझो रहेको छ । कृषिको आधुनिकीकरण, व्यावसायिकरण त छँदैछ तर विविधिकरणको ज्वलन्त उदाहरण पुष्प व्यवसाय पनि एक हो ।
प्रचुर तथा अथाह सम्भावना बोकेको पुष्प व्यवसायका लागि सरकारले ‘पुष्प प्रवद्र्धन नीति २०६९’ जारी गरी पुष्प प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्ययोजना लागू गरेको पनि सात वर्ष पुगेको भए पनि पुष्पखेतीतर्फ भने सोचेजति आकर्षण नहुनुले फूलको आयात रोकिएको छैन ।
सर्वेक्षणमा उत्पादन परिमाणको आधारमा प्रमुख पाँच मौसमी फूलमा सयपत्री, पिटुनिया, डाहलिया, जिनिया, प्यान्जी, बहुवर्षे फूलमा गुलाफ, बगानबेली, गोदावरी, एजेलिया, कर्निसन, आलाङ्कारिक फूलतर्फ धुपी, हेज, पम, अशोका, एरिका, कटफ्लावरतर्फ कार्नेशन, जर्वैरा, गुलाफ, ग्याहुलस, क्यालेनडुला र लुज फ्लावरतर्फ सयपत्री, लाहुरे, गोदावरी, एकान्त (सानो सयपत्री) र तारा (कोरेप्सिस) जातको पुष्पखेती हुँदै आएको उल्लेख छ ।