पोखराका सुकुमबासीले घोषणा गरे आन्दोलनका कार्यक्रम
उचित विकल्प र व्यवस्थापनविना आफूहरूलाई हटाउन खोजिएको भन्दै पोखराका भूमिहीन तथा सुकुमबासीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
विना विकल्प हटाउन खोजे थप आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिएका छन् । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गामा बनेका संरचना ३५ दिनभित्र आफैँ हटाउन सूचना जारी गरेपछि उनीहरू आन्दोलित बनेका हुन्।
काठमाडौँका नदी किनारका बस्तीमा डोजर चलाएपछि पोखराका सुकुमबासीहरू त्रसित बनेका छन् । आइतबार भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सङ्घर्ष समितिले पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
पोखरा महानगरपालिकाले गत वैशाख ४ गते सूचना निकालेर सार्वजनिक, ऐलानी र पर्ती जग्गामा विना अनुमति बनाइएका संरचना ३५ दिनभित्र खाली गर्न भनेको थियो । सङ्घर्ष समितिले संविधानले दिएको आवासको हक हनन् गर्दै राज्यले आफ्नै नागरिकमाथि आतङ्क मच्चाउन खोजेको र सुकुमबासीलाई आत्महत्या गर्न बाध्य पार्ने अवस्था सिर्जना गरेको आरोप लगाएको छ । सङ्घर्ष समितिका संयोजक प्रेमबहादुर गुरुङले आफूहरूको पहिला उचित व्यवस्थापन हुनुपर्ने माग गरे।