पूजामाथि सामूहिक बलात्कार भएको निश्चित
काठमाडौं – सर्वोच्च अदालतले पूजा बोहोरा सामूहिक बलात्कारमा परेको ठहर गर्दै दुईजनालाई दोषी प्रमाणित गरेको छ।
यसअघि तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै उच्च अदालत न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयालको संयुक्त इजलासले बिहीबार जबर्जस्ती करणी मुद्दामा बैतडीका सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गरेको हो। सजाय निर्धारणका लागि दुवै दोषीलाई पेस गर्न पनि इजलासले आदेश दिएको छ।
बलात्कारमा परेकी किशोरीले पूजा बोहोराको नामबाट २०७१ पुस १ मा सञ्चारमाध्यममार्फत आफूले न्याय पाउने कि नपाउने भनी तत्कालीन कानुनमन्त्री नरहरि आचार्यलाई सार्वजनिक पत्र लेखेकी थिइन्। मुद्दा फैसलाकै दिन उनको पत्र सञ्चारमाध्यमबाट बाहिरिएपछि सर्वोच्चले पेसीबाटै मुद्दा हटाएको थियो। उनले न्याय माग्दै आफूलाई सामूहिक बलात्कार गर्नेहरुको नामै किटान गरी सार्वजनिक सञ्चारमाध्यममा लेखिएको पत्र चर्चित बनेको थियो।
इजलासले दुवै कसुरदारलाई सजाय पछि तोक्ने आदेश दिएको छ। मुलुकी अपराध संहितामा कुनै व्यक्ति कुनै कसुरमा अदालतबाट कानुनबमोजिम कसुरदार ठहर भइसकेको ३० दिनभित्र सजाय निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था छ। सुरुमा जिल्ला अदालत बैतडीले भट्ट र अवस्थीविरुद्ध १३ वर्ष सजाय र जनही ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो।
जिल्ला अदालतले तोकेको सजाय र जरिवाना उल्टी गर्ने सर्वोच्चले आदेश गरेको छ। सर्वोच्चको सोही इजलासले एक महिनाभित्र सजाय निर्धारण गर्ने कानुनी व्यवस्था छ। ‘जिल्ला अदालतले ठहर गरेको कसुर सर्वोच्चले सदर गरेको छ। सजाय भने पुनः निर्धारण गर्नेछ। एक महिनाभित्र सोही इजलासले सजाय निर्धारण गर्नेछ’ सर्वोच्चका प्रेसविज्ञ किशोर पौडेलले भने।
जिल्ला अदालतबाट फैसला भएपछि सर्वोच्चमा २०७१ साल पुस २ मा ‘मुद्दा दोहो¥याइँपाऊँ’ अन्तर्गत मुद्दा दर्ता भएको थियो। २०७४ पुस ५ मा न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले सामूहिक बलात्कार प्रकरणमा संलग्न आरोपितलाई झिकाउने आदेश गरेको थियो। गत असोज १० मा न्यायाधीश सपना प्रधान मल्ल र हरिप्रसाद फुँयालको संयुक्त इजलासले मुद्दा ‘हेर्दाहेर्दैमा’ राखेको थियो। सर्वोच्चमा मुद्दा दर्ता भएको ५ वर्षपछि फैसला भएको हो।
२०६८ साल चैतमा एसएलसी दिने क्रममा बैतडीकी १४ वर्षीया पूजा दुईजनाबाट बलात्कृत भएकी थिइन्। बैतडीको पाटन बजारमा गेसपेपर किन्न जाँदा उनी सामूहिक बलात्कारमा परेकी थिइन्। बलात्कृत भएको ८ वर्षपछि पूजाले न्याय पाएकी छन्।
बलात्कारपछि बेहोस अवस्थामा रक्ताम्य भेटिएकी पूजाको उपचारपछि घटना बाहिरिएको थियो। चर्को दबाबपछि प्रहरीले अनुसन्धान गरी जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। मुद्दामा बैतडीका तत्कालीन जिल्ला न्यायाधीश हिमाल पाठकले जनही ५० हजार जरिवानासहित १३ वर्ष कैदको फैसला सुनाएका थिए।
फैसला चित्त नबुझेपछि पुनरावेदन अदालत महेन्द्रनगरमा पुनरावेदन गरिएको थियो। पुनरावेदन अदालतका तत्कालीन न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको इजलासले आरोपितलाई सफाइ दिएको थियो। पुनरावेदनले सफाइ दिएपछि सर्वोच्चमा मुद्दा परेको हो। उक्त मुद्दामा २०७१ देखि २०७६ सम्म आइपुग्दा सर्वोच्चको पेसीमा १५ पटक ‘हेर्न नभ्याइने’ इजलासमा परेको र ३ पटक विपक्षी कानुन व्यवसायीले पेसी स्थगित गराएका थिए।