अमेरिकाबाट २० वर्षअघिका बलात्कारी र हत्यारालाई नेपाल ल्याइयो
(काठमाडौं) बुधबार बिहान टर्की एयरको विमान काठमाडौं विमानस्थलमा ओर्लनासाथ नेपाल प्रहरीको एक टोली त्यहाँ पुग्यो । विमानबाट ओर्लनेवित्तिकै अमेरिकाबाट नेपाल आइपुगेका एक युवकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लियो ।
झापामा आजभन्दा २० वर्ष पहिले एक युवतीको बलात्कारपछि हत्या गरेको अभियोगमा यी युवकलाई अमेरिकामै पक्राउ गरेर नेपाल ल्याइएको हो ।
दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका झापा चन्द्रगढी-३ का ४२ वर्षीय लीलाराज गौतमलाई इन्टरपोल वाशिंटनको सक्रियतामा सन् २०१८ फेब्रुअरी १३ मा पक्राउ गरी अमेरिकाकै हिरासतमा राखिएको थियो ।
नेपाल प्रहरीले गरेको निरन्तरको पत्राचारपछि अमेरिकी अध्यागमनका न्यायाधीशले सन् २०१८ सेप्टेम्बर ५ मा उनलाई नेपाल पठाउने आदेश दिएका थिए ।