राष्ट्रपति भण्डारीकाे भारतीय राष्ट्रपति काेविन्दसँग जापानमा भेट
(टाेक्याे, जापान) जापान भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गर्नुभएको छ ।
जापानका सम्राट नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुन विभिन्न देशका विशिष्ट पाहुना जापानमा छन् । यही क्रममा जापानमा रहनुभएकी राष्ट्रपति भण्डारीले भारतीय समकक्षीसँग आज बिहान भेटवार्ता गर्नुभएकाे हाे ।
भेटका क्रममा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति कोविन्दलाइ नेपाल भ्रमणकाे निम्ताे पनि दिनुभयाे । राष्ट्रपति काेविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएकाेमा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्नुभयाे । साथै भ्रमणको निमन्त्रणा स्वीकारी कूटनीतिक तहबाट भ्रमणको व्यवस्था मिलाइने जानकारी पनि दिनुभयाे ।
भेटमा दुवै पक्षबाट नेपाल-भारत सम्बन्धमा सन्तोष व्यक्त गर्दै यसलाई अझ व्यापक, फराकिलो, गहन र बहुआयामिक बनाइने दृढता व्यक्त गरिएकाे थियाे ।राष्ट्रपति काेविन्द यसअघि सांसद हुँदा सन् २००६ मा नेपाल भ्रमणमा आउनुभएकाे थियाे । उहाँ निकट भविष्यमा नेपाल आउने आशा गरिएकाे छ ।
साे भेटमा नेपालका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीलगायत उच्च अधिकारीहरू समेत संलग्न थिए ।