सवारी दुर्घटना १२१ः ३ को मृत्यु, ८ गम्भीर
(काठमाडौं) नेपाल प्रहरीले तिहारको अवसरमा बनाएको विशेष सुरक्षा रणनीति अन्तर्गत ४ सय ६५ जना जुवाडेलाई पक्राउ गरेको छ ।
देशभर ४३ स्थानमा चलाइएको प्रहरी कारबाहीका क्रममा पक्राउ परेकामध्ये ३ जना महिला छन् । विभिन्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले चलाएको अपरेसनमा ३ करोड ३० लाख रुपैयाँ पनि बरामद भएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले बताए ।
उनका अनुसार यो विवरण २ कात्तिकदेखि १३ कात्तिकको दिउँसोसम्मको हो । ‘पक्राउ परेकामध्ये अधिकांशविरुद्ध जुवा ऐन अन्तरगत मुद्दा चलाइएको छ भने केही धरौटीमा छुटिसकेका छन्’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोखरेलले अनलाइनखबरसँग भने ।
उनका अनुसार तिहारमा चलाइएको अपरेशनमध्ये सबैभन्दा ठूलो महाराजगञ्जमा चलाइएको अपरेशन हो । जसमा २ करोड ६७ लाख रुपैयाँ बरामद भएको छ भने २५ जना भीआईपी जुवाडे समातिएका छन् ।समातिनेमा क्यासिनो किङका रुपमा चिनिने गुण्डा बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्ट्रीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम, मुक्ति लामा, इन्द्रबहादुर श्रेष्ठ, शम्भुबहादुर बुढाथोकीलगायत छन् ।
उनीहरुले सर्वोच्च अदालतमा पनि बन्दीप्रत्यक्षीकरणको रिट पनि दायर गरेका थिए । त्यसमा बिहीबार पुनः सुनवाइ हुँदैछ । पक्राउ परेकाविरुद्ध अनुसन्धानका लागि म्याद थप पनि बिहीबारै अदालतसमक्ष माग गर्ने प्रहरीले जनाएको छ ।