दाइजोमा २ लाख नदिँदा नेपाली चेलीको भारतमा हत्या
(विराटनगर) दाइजोको निहुँमा भारतीय सीमा जोगवनीमा एक महिलाको हत्या भएको छ। विराटनगर-११ पञ्चमुखी चोक माइतीघर भएकी २२ वर्षीया रञ्जना सहनी (बहरदार) को जोगवनीमा हत्या भएको हो।
उनको शव भारतको अररिया जिल्लास्थित परवाना नदीको मिरगन्ज पुल नजिकै हत्या गरी फालेको अवस्थामा शनिबार फेला परेको थियो। शव स्थानीयले खोलामा देखेपछी जोगवनी स्थित भारतीय प्रहरीलाई खबर गरेका थिए। शव भारतमानै पोष्टमाटमका लागि राखिएको छ। पोष्टमार्टमपछि नेपाल ल्याएर दाहसंस्कार गरिने मृतकका बुवा मनिकचन्द सहनीले बताए।
छोरीलाई दैनिक यातना दिएपछि माइती पक्षले केही समय अगाडि मात्र मोटरसाइकलसमेत किनेर दिएको सहनीले बताए। ‘हामीले केही दिन अघि मात्र ९० हजारको मोटरसाइकल किनिदिएका थियौं, फेरि छोरीका सासु ससुरा र श्रीमानले दुई लाख पैसा पसल गर्न भनेर मागे, त्यो दिन नसकेपछि यसरी हत्या भएको हो,’ उनले भने।
रञ्जनाको गत फागुनमा भारत अररिया ताकियाका २५ वर्षीय भिम बहरदारसँग मागी विवाह भएको थियो। विवाहमा माइतीले थोरै दाइजो दिएको भन्दै सोही समय देखी बहरदार परिवारले छोरीलाई मानसिक र शारीरिक यातना दिनेगरेको रञ्जनाका बुबा मनिकचन्द सहनीले बताए।
‘छोरीलाई विवाहपछि दाइजोको कुरामा धेरै यातना दिएछन्, घरमा रुदै सुनाउथी, अहिले हत्या गरेर फालेछन्,’ सहनीले भने।
जोगबनी प्रहरी थानाका प्रमुख अफताब अहमदका अनुसार हत्यामा संलग्न रञ्जनाका श्रीमान सहित चार जनालाई नियन्त्रण लिएको छ। पक्राउ पर्नेमा श्रीमान् भीम बहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदार, छिमेकी शिवानन्द मुखिया रहेका छन्।