तपाईंको ठाउँमा म भए तेजाब हान्नेलाई फाँसी दिन्थेँ
(काठमाडौं) एसिड आक्रमणमा परेर कीर्तिपुर अस्पतालमा उपचाररत किशोरी मुस्कान अन्सारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी लेखेकी छिन् । र, आफूमाथि एसिड हान्नेलाई फाँसीको सजय माग गरेकी छन् ।
कक्षा ९ मा अध्ययरत वीरगञ्जकी खातुनमाथि स्कुल जाने क्रममा २० भदौमा एसिड आक्रमण भएको थियो ।
एसिड आक्रमण गर्ने माजिद मियाँ र सम्साद मियाँ पक्राउ परिसकेका छन् । प्रहरीले दुवैजनामाथि ज्यान मार्ने नियत तथा तेजाबलगायत अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पारेको मुद्दा दर्ता गरेको थियो । र, मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ अनुसार मजिलाई १० वर्ष कैद र रु १ लाख जरिवाना तथा सम्सादमाथि ५ देखि ८ वर्ष कैद र रु १ लाखदेखि ५ लाखसम्म जरिवाना मागदाबीसहित जिल्ला अदालतमा फाइल दर्ता गरेको थियो ।
तर जिल्ला अदालतले दुबै नाबालिग (उमेर १६ देखि १८ वर्ष) रहेको भन्दै सुधार गृहमा पठाइएको छ ।
प्रधानमन्त्रीलाई लेखेको चिठ्ठीमा खातुनले त्यसप्रति असन्तुष्टि जनाएकी छन् । उनले भनेकी छन्, प्रधानमन्त्रीज्यू हजुरको दुई तिहाई सरकारको ठाउँमा म भइदिएको भए तेजाब हान्ने अपराधीलाई फाँसी दिन्थे होला ।’
उनले केही वर्ष पहिले सीमा बस्नेत र संगीता खड्कामाथि एसिड आक्रमण भएको बेला नै कडा कानुन बनाइदिएको भए आफू अहिले यो अवस्थामा नै आउने थिइन होला समेत भनेकी छन् ।