तोकेभन्दा बढी लिएको शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि हातपात
(वीरगञ्ज) नेपाल सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजका व्यवस्थापन पक्षले हातपात गरेको छ । चितवनबाट आएका चिकित्सा शिक्षा सुधार सङ्घर्ष समितिका पदाधिकारीहरुसँगै शुल्क फिर्ता माग गर्नेलाई कलेज व्यवस्थापन पक्षले हातपात गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।
नेपाल सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता गर, विद्यार्थीमाथि हातपात गर्नेलाई कार्यवाही गर जस्ता नारा लगाउँदै कलेज परिसरबाट निकालिएको जुलुस वीरगञ्जको विभिन्न भाग परिक्रमा गर्दै वीरगञ्जको घण्टाघर चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
सङ्घर्ष समितिका राष्ट्रिय संयोजक प्रकाश चन्दलगायतका विद्यार्थीहरुमाथि कलेज व्यवस्थापले हातपात गरेपछि सोको विरोधमा विद्यार्थीहरुले वीरगञ्जमा प्रदर्शन गरेका छन् । चितवनबाट आएका विद्यार्थीहरुसँगै नेशनल मेडिकल कलेजको एमबिबिएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुले जुलुस निकाली प्रदर्शन गरेका हुन् ।
कोणसभालाई सम्बोधन गर्दै समितिका संयोजक चन्दले बढी लिएको शुल्क फिर्ता माग्दा कलेजका प्रबन्धक बरसुद्दीन अन्सारीलगायतका व्यक्तिहरुले आफूहरुमाथि हातपात गरेको आरोप लगाए । उनले कलेजले चिकित्सा शिक्षा सङ्कायमा अध्ययनरत प्रतिविद्यार्थीबाट रु ५५ लाखदेखि ६२ लाखसम्म शुल्क लिएको प्रमाण आफूहरुसँग रहेको दाबी गरे ।