करेन्ट लागेर महोत्तरीमा एक जनाको मृत्यु
करेन्ट लागेर महोत्तरीको एकडारा गाउँपालिकामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ चकवागाउँ बस्ने ४९ वर्षीय सियाराम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।ठाकुरको घरको भुइँमा नाङ्गो तार झरेको अवस्थामा गएराति अचानक सो तार छुन पुगेपछि बुबा सियारामको करेन्ट लागेको देखेर छोराछोरीले बचाउन खोज्दा उनीहरूलाई पनि करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका सियारामका १७ वर्षीय छोरा सुरेश ठाकुर र १० वर्षीया छोरी पूजाकुमारीको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।