वर्षौंदेखि भान्जीमाथि बलात्कार
(बझाङ) भान्जी बलात्कार गरेको अभियोगमा मामा पक्राउ परेका छन्। मामाघरमा बस्दै आएकी भान्जीलाई केही वर्ष अघिदेखि मामाले बलात्कार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
पालन पोषण गर्ने र पढाइदिने भन्दै घरमा राखेकी भान्जीलाई केही वर्षदेखि नै उनले पटक–पटक बलात्कार गर्ने गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले बताए।उनीमाथि बिहीबार जबरजस्ती करणीमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थपसहित आवश्यक अनुसन्धान भैरहेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए ।
कक्षा ९ मा अध्यनरत बालिकामाथि बलात्कार गर्ने मामा ६३ वर्षका रहेको उनले बताए । उनले भान्जीको मोबाइलमा अश्लिल तस्बिरसमेत खिचेको भेटिएको छ।बालिकाको भाइले आफ्नो दिदीको मोबाइल चलाउन खोज्दा नजानेपछि गाउँका एक छिमेकीलाई मोबाइल चलाउन सिकाइदिन आग्रह गर्दा मोबाइलमा अश्लिल तस्बिर देखेपछि घटना बाहिरिएको हो।