दसैँका लागि ८० % हवाई टिकट बुकिङ भयो
(काठमाडौं) दसैंमा लामो दुरीको बसको टिकट बुकिङ गर्न नपाएपछि यात्रुमा निराशा छाएको छ। काठमाडौंमा अध्ययनरत डोटीका दिल जोरा दसैंमा घर फर्कन बसको टिकट नपाएपछि बिहीबार गंगबुस्थित बसपार्कबाट खालिहात फर्किए।
‘हिजोसम्म परीक्षाका कारण टिकट लिन आउन भ्याइएन,’ जोराले नागरिकसँग भने ‘अत्तरियासम्मको टिकट पनि पाइएन।’
बसको क्याबिन पनि प्याक भइसकेको जानकारी पाउँदा आफूलाई पत्याउन गाह्रो लागेको भन्दै उनले थपे, ‘अब २५ घन्टासम्म मुडामा यात्रा गर्नुको विकल्प छैन।
उनी त प्रतिनिधि मात्र हुन्। अधिकांश ठाउँको टिकट बुकिङ भइसकेकाले दसैंमा गाउँ फर्कने यात्रु विकल्प सोच्न बाध्य छन्। बसको विकल्पमा हवाई टिकट लिन खोजे पनि अधिकांश हवाई कम्पनीले दसैंसम्मको टिकट बुक भइसकेको जनाएका छन्। हवाई कम्पनीका अनुसार बिहीबारसम्म अधिकांश गन्तव्यको ८० प्रतिशत टिकट बुकिङ भएर पनि फर्केने टिकटमा पनि चाप देखिन थालिसकेको छ।
भद्रपुर,विराटनगर,राजविराज,भैरहवा र नेपालगन्जमा उडान भरिरहेको श्री एयरलाइन्सले ८० प्रतिशतभन्दा बढी टिकट बुकिङ भइसकेको जनाएको छ। ‘श्री एयरले ८० वर्षमाथिका यात्रुलाई पाँच सय रुपैयाँमा र ७५ वर्ष माथिका यात्रुलाई ५० % छुटमा उडानको सुविधा दिएको केही दिनमा नै अत्यधिक चापसहित टिकट बुक भयो,’ कम्पनीका एक अधिकारीले भने। असोज १७ देखि २१ गतेसम्मको उडानमा बढी चाप रहेको जनाउँदै उनले अब फर्कने टिकटमा पनि चाप देखिन थालेको जानकारी गराए।
‘अब महँगो फेयरको टिकट मात्र बुकिङ बाँकी छ। एक–दुई दिनभित्र त्यो पनि सकिन्छ,’ उनले भने, ‘यस्तै चाप रहे कम्पनीले थप उडानको व्यवस्था गर्न सक्छ तर अहिले नै भन्न मिल्दैन।’
यती एयरलाइन्सले पनि ९५ % टिकट बुकिङ भइसकेको जनाएको छ। यतीका प्रवक्ता भिमराज राईका अनुसार दसैंपछिको पनि ५० % टिकट बुकिङ भइसकेको छ। ‘हामीले प्रत्येक यात्रुलाई गन्तव्यसम्मको टिकटमा १० % छुट दिँदै आएका छौं,’ उनले भने, ‘यात्रुको अध्यधिक चाप देखिएको छ। भनेकै दिनमा टिकट पाउन सक्ने अवस्था छैन। हाल यतीले काठमाडौंबाट भद्रपुर, तुम्लिङटार, विराटनगर, भरतपुर, पोखरा र नेपालगन्जमा उडान भर्छ। यसले नेपालगन्जबाट बाजुरा, जुम्ला, सिमिकोट, रारा र डोल्पामा पनि सेवा दिन्छ। पोखराबाट जोमसोम उडानमा पनि यती छ। यी सबै उडानमा यात्रुको उत्तिकै चाप रहेको राईले बताए।
सिम्रिक एयरले पोखरा र भरतपुरको उडान गरिरहेको र ८० प्रतिशतभन्दा बढी टिकट बुक भइसकेको जनाएको छ। कम्पनीका प्रवक्ता प्रज्वल थापाका अनुसार कम्पनीका ७० % रिटर्न टिकट पनि बुक भइसकेका छन्। ‘यसपटक दसै र पर्यटकीय सिजन सँगै परेकाले दोहोरो टिकटमा अत्यधिक चाप देखिएको छ,’ उनले भने।
बुद्ध एयरले पनि बुकिङ ७५ % भइसकेको जनाएको छ। अहिलेलाई टिकट पाइरहे पनि अबको एक–दुई दिनमा सबै बुकिङ भइसक्ने उसको अनुमान छ।