विमानस्थल निर्माणमा बहानाबाजी नहोस् : मन्त्री भट्टराई
काठमाण्डौ ११ भाद्र । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।मन्त्री बनेपछि पहिलोपटक पोखरा आएका भट्टराईले बुधबार बिहान राष्ट्रिय गौरवको आयोजनामा सूचिकृ पोखरा विमानस्थलको निरिक्षण गरेका हुन् ।त्यसक्रममा उनले आयोजना प्रमुखसँग विमानस्थल निर्माणको प्रगति र आन्तरिक अवस्थाका बारेमा चासो राखेका थिए ।
मन्त्री भट्टराईले राष्ट्रिय गौरवको आयोजनालाई तोकिएको समयभित्रै तयार गर्ने गरी काम गर्न आयोजना प्रमुखलाई निर्देशन पनि दिए । ‘विमानस्थल तोकिएकै समयमा सम्पन्न हुनु पर्छ,’उनले भने, ‘कुनै पनि बहानामा विमानस्थल निर्माणको काम रोकिनु हुँदैन।आयोजना प्रमुख विनेश मुनाकर्मीले विमानस्थलको काम ४५ प्रतिशत भन्दाबढीसकिएको जानकारी गराएका थिए । ‘विमानस्थल निर्माणको काम द्रुत गतिमा अगाडि बढाइएको छ,’ उनले भने सन् २०२२ सम्मको सम्झौता भए पनि ६ महिनाअगावै काम सकिने दाबी आयोजनाको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पोखरामा ४० वर्ष पहिले ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।विमानस्थल निर्माण प्रक्रियाको लागि चीन सरकारसँग २२ अर्ब रुपैयाँमा सम्झौता भएको थियो । अधिग्रहण गरिएको ३ हजार १ सय ६ रोपनीले नपुगेपछि गत वर्ष थप ६ सय २९ रोपनी जग्गा सरकारले अधिग्रहण गरेको हो ।विमानस्थलको कुल क्षेत्रफल १ हजार १ सय ५६ रोपनी छ । १ हजार ४ सय ४७ मिटर लम्बाइ र ३० मिटर चौडाइको धावन मार्ग हुने छ ।
विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी सीएएमसीले पाइसकेको छ । सरकारले ईपीसी मोडेलमा २१ करोड ५० लाख अमेरिकी डलर (२१ अर्ब रुपैयाँ) मा निर्माण सक्न ठेकेदार कम्पनी सीएएमसीसँग सम्झौता गरेर निर्माण कार्य अगाडि बढाएको हो ।विमानस्थल निर्माणका लागि २१ करोड ७० लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । चीनको एक्जिम बैंकको सहुलियत ऋणमा विमानस्थल निर्माण अगाडि बढाइएको हो ।



रासस