पोखरामा डेंगुको महामारी, ३४ जनामा संक्रमण
पोखरामा डेंगु रोगका संक्रमण फैलिएको छ । पछिल्लो एक हप्तामा २१ जनामा देखिएको डेंगुको संक्रमण बढेर अहिले ३४ जनामा पुगेको छ ।
गत हप्ता २१ जनामा देखिएको डेंगुको संक्रमण बढेर ३४ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयका सूचना अधिकारी डा. भोजराज गौतमले बताए ।
‘दैनिक जसो डेंगुका बिरामीको संख्यामा वृद्धि हुँदै गएको छ,’ उनले भने, ‘पोखरा क्षेत्रमा यस वर्ष हालसम्म ३४ जनामा डेंगुका बिरामी भेटिएका छन् ।’
पोखराका विभिन्न अस्पतालमा हाल ११ जनाको उपचार भइरहेको डा. गौतमले बताए । पोखराका विभिन्न अस्पतालमा झुलसहित छुट्टै कोठामा राखेर उच्च निगरानीका साथ डेंगुका बिरामीको उपचार भइरहेको उनले दाबी गरे ।
उनका अनुसार १५ साउनमा पोखरा–८, शिवालय चोकका एक व्यक्तिमा डेंगु संक्रमण भेटिएको थियो । पछि बिस्तारै यसको संक्रमण पोखराका विभिन्न क्षेत्रमा फैलिँदै गएको हो । सोमबारसम्म पोखराका विभिन्न क्षेत्रबाट ३४ जनामा संक्रमण भेटिएको छ ।
पोखरा महानगरका ८ र ९ वडामा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । यस्तै, पोखराका १, २, ४, ५, ६, १०, १७, २५ वडाहरुमा समेत डेंगु संक्रमणका बिरामी भेटिएको हो ।
पोखरामा विभिन्न संघ संस्थाको अगुवाइमा डेंगु सचेतना तथा खाली भाडामा पानी जम्न नदिने गरी घर दैलो कार्यक्रममा भइरहेको छ । संक्रमितहरुको गण्डकी मेडिकल कलेज (जीएमसी), फेवा सिटीमा, पश्चिमाञ्चल क्षेत्रीय अस्पताललगायतका ठाउँमा उपचार भइरहेको डा. गौतमले बताए ।
‘पोखरामा गत वर्ष डेंगुको टाइप २ भाइरस देखिएको थियो । अहिले उनीहरुको रगतको सेरोटाइप जाँचका लागि काठमाडौं पठाएका छौं,’ उनले भने, ‘टाइप १ देखि टाइप ४ सम्मको भाइरस डेंगुमा हुन्छ १ र २ नर्मल हुन्छ भने टाइप ३ र ४ खतरनाक हुन्छ ।’
लामखुट्टेको वृद्धि र संक्रमण गराउने उपयुक्त मौसम भएका कारण पोखरामा डेंगु संक्रमणको उच्च जोखिम अझै रहने बताउँदै उनले सावधानी अपनाउन सबैलाई आग्रहसमेत गरेका छन् ।
लामखुट्टेको बासस्थान नै नष्ट पार्नु डेंगुको प्रमुख रोकथाम भएको उनको भनाइ छ । कास्कीबाहेक गण्डकी प्रदेशका स्याङ्जाका दुई जनामा र तनहुँका एक जनामा डेंगु भेटिएको डा. गौतमले बताए । यस वर्ष भने प्रदेशका अन्य जिल्लामा हालसम्म डेंगुका बिरामी नभेटिएको उनले बताए ।
कसरी सर्छ डेंगु
रोगबाट बच्न एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट बच्नुपर्ने स्वास्थ्यकर्मी बताउँछन् । यो लामखुट्टेले दिउँसोको समयमा मात्र टोक्छ । डेंगु रोग नियन्त्रणको प्रमुख उपाय लामखुट्टेको लार्भा र प्युपा बस्ने बासस्थान नष्ट नै रहेको जानकारी डा. गौतमले दिए ।
‘डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । यो जातको लामखुट्टेले दिनमा मात्र टोक्ने गर्छ,’ डा. गौतमले भने, ‘भाइरसबाट सर्ने यो रोगको खोप तथा खास उपचार नै छैन,’ डा. गौतमले भने ।
डेंगुको प्रकोप देखिएपछि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयले सरकारी तथा निजी अस्पतालबाट प्रत्येक दिन त्यस्ता रोगीको तथ्यांक लिने र लामखुट्टे धपाउने अभियान सुरु गरिसकेको छ ।
निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले शुक्रबारदेखि नै पोखरा नगर क्षेत्रमा लामखुट्टेको बासस्थान खोज्ने, नष्ट गर्नेदेखि लिएर सचेतना अभियान सुरु गरिएको बताए ।
उनका अनुसार मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज (जीएमसी)का मेडिकलमा अध्ययनरत विद्यार्थीसहितको टोलीले शुक्रबार पोखरा–८ र ९ मा लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सुरु गरेकाे छ ।
डेंगुका लक्षण र बच्ने उपाय
डेंगु लागेपछि देखिने लक्षणमा उच्च ज्वरो आउने, जीउ दुख्ने, जोर्नी तथा हाडहरु बेस्सरी दुख्ने, आँखाको गेडी वरपर दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, खाना खान मन नलाग्ने, छालामा रगत जमेको धब्वाहरु देखा पर्ने, नाक, गिँजा र शरीरका अन्य अंगबाट रगत बग्नेलगायतका चिन्ह र लक्षणहरु देखापर्ने डा. गौतम बताउँछन् ।
डेंगु ज्वरो विषाणुको कारणबाट हुने भएकाले यसको खासै उपचार छैन । डेंगु ज्वरोबाट हुन सक्ने जटिलताबाट बच्न तुरुन्त स्वास्थ्य जाँच र उपचारका लागि स्वास्थ्य संस्थामा जानुको विकल्प छैन । लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय हो ।
त्यसका लागि दिउँसोको समयमा अनावश्यक रुपमा नांगाे जीउ बाहिर ननिस्कने, जमेको पानीमा यो जातको लामखुट्टले फुल पार्ने भएकाले आफू बस्ने वरिपरि फालिएका खाली बोत्तल, अलकत्रा तथा मट्टीतेलका खाली ड्रमहरु, पुराना टायर लगायतमा पानी जम्न नदिने, पानीट्यांकीमा लामखुट्टे बस्न नदिने, गमलामा पानी जम्न नदिने, भाँडामा पानी जम्न नदिई घोप्ट्याएर राख्ने, लामखुट्टे टोकाइबाट बच्न मल्हम लगाउन चिकित्सकले सल्लाह दिएका छन् ।shilapatra