साँफे मार्तडी सडकमा पहिरो जाँदा यातायात सेवा ठप्प , बाजुरावासी प्रभावित
बाजुरा – साँफे मार्तडी सडकमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । बूढीगङ्गा नदीले सडकनै कटान गरी भाँसिन थालेपछि यातायात सेवा ठप्प हुन पुगेको हो । शिलान्यास भएको २३ वर्षपछि निर्माण सम्पन्न भएर यातायात सेवा सञ्चालन भएको एक वर्ष नपुग्दै दर्जनांै स्थानमा पहिरो जाँदा सो सडक अवरुद्ध भएपछि बाजुरावासी प्रभावित भएका छन् ।
गत वर्ष मात्र कालोपत्रको काम सकिएर सो सडक नियमित सञ्चालनमा आएको थियो । कालोपत्र गरेकै वर्ष पनि पहिरोका कारण सडक अवरुद्ध बनेको थियो । यो वर्ष पनि दुई पटक अवरुद्ध बनिसकेको छ । सामान्य पहिरो गएको र पन्छाएपछि सुचारु हुने अवस्था नभएकाले लामो समय सम्म सडक बन्द हुने अवस्था देखिएको छ ।
आठ परिवारले घर छोडे
साँफे मार्तडी सडक खण्डको छेउमा रहेका आठ परिवारले घर छोडेका छन् । तलपट्टी बूढीगङ्गा नदीको तीव्र कटान शुरु गरेसँगै आँगनमै पहिरो बग्न थालेपछि उनीहरुले घर छोडेका हुन् । सात परिवारले साउन पहिलो साता नै घर छोडेका हुन् भने टीकाराम पाध्यायका दाजुभाइले एकहप्ता अघिमात्रै घर छोडेको स्थानीयवासी नवराज पाध्यायले जानकारी दिए ।
निरन्तर वर्षाका कारण सडक पहिरोले भाँसिए सँगै घर पनि जोखिममा परेको छ । घरसमेत पहिरोमा बग्ने भएपछि घर छोडेर अन्यन्त्र सर्नु परेको टीकाराम पाध्यायको परिवारको गुनासो छ ।
सडक तलतिर रहेका लीला पाध्याय, हीरा पाध्याय, नन्दकृष्ण पाध्याय, मनिराम पाध्याय, टीकाराम पाध्याय लगायतका परिवार पनि अन्यन्त्र सरिसकेका छन् । उनीहरुको बस्ती नजिकै पहिरो बग्न थालेको छ । रासस