एसिया कप महिला हकीमा नेपालद्वारा फिलिपिन्सलाई पराजित
थाइल्यान्डको चोनबुरीमा चलिरहेको वुमन्स इन्डोर एसिया कप हकी २०१९ मा नेपालले बलियो प्रतिद्वन्द्वी फिलिपिन्सलाई पराजित गरेको छ । दुईपटक पछि परेको अवस्थाबाट कमब्याक गर्दै नेपालले २–३ को जित निकालेको हो ।
नेपाललाई प्रतियोगिताको पहिलो जित दिलाउने क्रममा देविका विकले २ गोल गरिन् भने निलिमा पाण्डेले १ गोल गरिन् । जेभिलिन ओबासाले ७औं मिनेटमा गोल गर्दै फिलिपिन्सलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । तर, निलिमाले १४औं मिनेटमा गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् ।
पहिलो हाफ १–१ को बराबरीमा सकिएपछि फिलिपिन्सले दोस्रो हाफको पहिलो मिनेटमै फेरि अग्रता लियो । २१औं मिनेटमा गोल गर्दै मारिया कास्टिलोले फिलिपिन्सलाई अग्रता दिलाएकी थिइन् ।
देविकाले २९औं मिनेटमा गोल गर्दै खेल फेरि बराबरीमा ल्याइन् । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा देविकाले ३६औं मिनेटमा अर्को गोल थप्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । बाँकी समयमा दुवैतर्फबाट थप गोल नभएपछि नेपाल ३–२ ले विजयी भयो ।
यसअघि भएका खेलमा नेपाल डिफेन्डिङ च्याम्पियन काजकिस्तानसँग ८–० ले पराजित भएको थियो भने उज्बेकिस्तानसँग ९–० ले पराजित भएको थियो । ५ टिम सम्मिलित पुल ‘ए’मा रहेको नेपाल ३ खेलमा १ जित निकाल्दै चौथो स्थानमा छ । नेपालले भोलि आफ्नो चौथो खेलमा इरानको सामना गर्दै छ ।