माओवादी नेता अधिकारीको निधन,आज पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौं : माओवादी नेता श्रीनाथ अधिकारी (श्याम) को फोक्सोको क्यान्सरका कारण निधन भएको छ । उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । आइतबार राति भक्तपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । आर्यघाट लानुअघि नेता अधिकारीको शब अन्तिम श्रद्धान्जलिका लागि कुपण्डोलस्थित नेकपा (क्रान्तिकारी माओवादी) को कार्यालयमा राखिने छ ।
विसंं २०११ मा गोरखामा जन्मिएका अधिकारी विसंं २०३२ देखि कम्युनिष्ट आन्दोलनमा सक्रिय थिए । माओवादीले २०५२ सालमा सुरु गरेको जनयुद्ध र त्यसको सुरुवाती चरण देखि नै गोरखा जिल्लामा कम्युनिस्ट आन्दोलन सुरुवात गर्नमा महत्वपूर्ण भूमिका खेलेका अधिकारी हाल मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य थिए । उनी माओवादी आन्दोनलमा निष्ठावान नेताका रुपमा चिनिन्छन् ।
अधिकारी गोरखा जिल्लाको कम्युनिस्ट आन्दोलन तथा माओवादी पार्टीको संस्थापक नेता हुन् । उनलाई माओवादी धाराभित्रका सबै पार्टीका नेता कार्यकर्ताहरुले एक अनुकरणीय व्यक्तित्वको रुपमा लिने गर्दछन् । माओवादी आन्दोलनको प्रभाव रहेको गोरखाका नेता अधिकारीको सिंगो परिवार नै माओवादी आन्दोलनमा क्रियाशील थियो । उनका छोरा नारायण अधिकारी र बुहारी सुशीला थापा वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य छन् ।
फोक्सोको क्यान्सर लागेको पत्ता लागेपछि उनलाई उपचारका लागि गत पुसमा भरतपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो । त्यसपछि थप उपचारका लागि भक्तपुरस्थित क्यान्सर अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको आइतबार राति निधन भएको हो । आइतबार दिउँसो स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई भेट्न क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणसहितका नेताहरु हरिसिद्धिस्थित क्यान्सर अस्पताल पुगेका थिए ।