सूचना टाँसेर प्रतिनिधिसभाको बैठक स्थगित
काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाको विरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक बस्दै नबसी बुधबार १ बजे सम्मका लागि सारिएको छ। सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै कांग्रेस र राजपाका सांसदले नाराबाजी गर्दै रोष्टम घेरेपछि सभामुख कृष्ण बहादुर महराले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। संघीय संसद सचिवालयले सूचना टाँसेर बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले २५ गते बुधबार १ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ।
सूचनामा भनिएको छ ‘आज मिति २०७६ साल असार २४ गते मंगलबार १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको प्रतिनिधिसभाको बैठक विशेषकारणवस बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुखज्यूले अर्को बैठक २०७६ साल असार २५ गते बुधबारको दिन १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’