'दिगो विकास लक्ष्य हासिल गर्न बजेटको आकार बढाउनुपर्छ' : अर्थमन्त्री
काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्नसक्ने दाबी प्रतिनिधिसभाको आइतबारको बैठकमा गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारी, निजी र सहकारीलगायत सबै मिलेर काम गरे आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने दाबी गरेका हुन् ।
अर्थमन्त्री खतिवडाले बजेट विनियोजनमा तराई-मधेसलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै भौतिक पूर्वाधारमा मात्र एक अर्बमाथि बजेट विनियोजन गरिएको बताएका थिए ।
दक्षिण एशियामा सबैभन्दा बढी वैदेशिक ऋण लिने नेपाल रहेको जानकारी दिँदै उनले भने, 'दिगो विकास लक्ष्य हासिल गर्न बजेटको आकार बढाउनुपर्छ ।'
अर्थमन्त्री खतिवडाले भूकम्पको पुनःनिर्माण सकुञ्जेल वैदेशिक ऋण बढ्नसक्ने बताउँदै ऋणलाई राष्ट्रिय उत्पादकत्व र द्रुत विकासमा खर्च गरिने बताए । अर्थमन्त्रीले दिएको जवाफमा सांसद डिला संग्रौलाले बजेट वितरणमुखी र सस्तो लोकप्रियता हासिल गर्ने खालको रहेको आरोप लगाएकी थिइन् ।
सांसद प्रेम सुवालले वैदेशिक ऋण लिएर किन कर्मचारीको तलब वृद्धि गरियो भन्ने प्रश्न गरेका थिए ।