इन्डोनेसियामा बाढीपहिरोमा परी चार जनाको मृत्यु, दुई बेपत्ता
इन्डोनेसियाको जाभा प्रान्तमा लगातारको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्।
खोज तथा उद्धार अधिकारीहरूका अनुसार बनजारनेगारा क्षेत्रमा गएको पहिरोमा परी चार जनाको ज्यान गएको हो। बेपत्ताहरूको खोजी कार्य जारी रहेको छ।
यसैबीच, भारी वर्षा र माथिल्लो क्षेत्रबाट आएको पानीका कारण सिलाकाप क्षेत्रमा शनिबार नदीको तटबन्ध भत्किएपछि बाढी आएको छ। बाढीले सयौँ घर डुबानमा पारेको छ भने एक हजारभन्दा बढी स्थानीय प्रभावित भएका छन्।
प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। उद्धार टोलीले बेपत्ताहरूको खोजी गर्नुका साथै भत्किएको तटबन्ध अस्थायी रूपमा मर्मत गर्ने, बालुवाका बोरा राख्ने र खाद्यान्न वितरण गर्ने काम गरिरहेको छ।
स्थानीय सरकारी निकायहरूले प्रभावित नागरिकलाई आवश्यक राहत तथा आधारभूत सुविधा उपलब्ध गराउने कार्य जारी राखेका छन्।