१५ करोडको कोकिनसहित कोरियन नागरिक पक्राउ, भारतीय प्रहरी जवान पनि तस्करीमा संलग्न
काठमाडौंलाई लागुऔषध तस्करीको ट्रान्जिट बनाउने प्रयास भइरहेको खुलासा भएको छ। लागुऔषध नियन्त्रण ब्युरोले ठमेलस्थित एक होटलबाट ३ किलो कोकिनसहित ८७ वर्षीय कोरियन नागरिकलाई पक्राउ गरेको छ।
ब्युरोका अनुसार मंसिर ११ गते कोरियन नागरिक सुक चोन ली पक्राउ परेका हुन्। उनले विमानस्थल हुँदै नेपाल भित्र्याएको ३ किलो कोकिन प्रहरीले बरामद गरेको ब्युरोका एसएसपी सुवास बोहराले जानकारी दिए।
कोकिन लिन काठमाडौं आएका भारतीय नागरिक दीपक उत्तम बाघमारे पनि पक्राउ परेका छन्। अनुसन्धानका क्रममा उनी भारतीय प्रहरीका बहालवाला जवान रहेको खुलेको छ। उनको साथबाट ‘स्टेट रिजर्भ पुलिस फोर्स मुम्बई’ लेखिएको परिचयपत्रसमेत फेला परेको अनुसन्धान अधिकृतहरूले बताएका छन्।
ब्युरोका अनुसार काठमाडौंमा कोकिन कारोबारमा कोरियन नागरिक पक्राउ परेको यो पहिलो घटना हो। कोकिन लिन आएका व्यक्ति भारतीय प्रहरीका कर्मचारी रहेको खुलेपछि घटनालाई थप गम्भीरताका साथ हेरिएको छ।
प्रहरी अनुसन्धानअनुसार कोरियन नागरिक लीले पेरुबाट म्याड्रिड (स्पेन) र दोहा हुँदै नोभेम्बर २६ मा नेपाल कोकिन ल्याएका थिए। उनले उक्त कोकिन काठमाडौं हुँदै भारतको मुम्बई पुर्याउने योजना बनाएको खुलेको छ। भारतीय नागरिक बाघमारे पनि हवाईमार्गबाटै काठमाडौं आएका थिए।
बरामद कोकिनको अवैध बजार मूल्य प्रतिग्राम ५० हजार रुपैयाँका दरले करिब १५ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ।
अनुसन्धानका क्रममा कोकिन लुकाइएको सुटकेस आदानप्रदान गर्न दुवै पक्षले पासवर्ड प्रयोग गर्ने गरेको समेत खुलेको छ। यसले कारोबार योजनाबद्ध र संगठित रूपमा सञ्चालन भइरहेको हुन सक्ने प्रहरीको आशंका छ।
यसअघि पनि ली सन् २०२६ जुलाई १९ मा नेपाल आएर ठमेलकै एक होटलमा तीन दिन बसेर फर्किएको अभिलेख फेला परेको छ।
नेपाललाई अन्तर्राष्ट्रिय लागुऔषध तस्करहरूले नयाँ ट्रान्जिटका रूपमा प्रयोग गर्न खोजेको हुन सक्ने देखिएको यस घटनामा पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।