निर्माणाधीन रत्ननगर सभाहल अस्पताललाई हस्तान्तरण गर्न मन्त्री लम्सालको पहल
लामो समयदेखि अलपत्र सभाहलको निरीक्षण गर्दै मन्त्री लम्सालले अस्पतालको सेवा विस्तारका लागि संरचना उपयोगी हुने भएकाले नगरपालिकासँग समन्वय गरेर अस्पताललाई हस्तान्तरण गर्ने प्रयास गर्ने बताए।
विसं २०७३ देखि निर्माण सुरु भएको सभाहल एक दशक बितिसक्दा पनि पूरा भएको छैन। रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटाले एउटै नगरपालिकामा दुई सभाहल आवश्यक नभएकाले अस्पताललाई हस्तान्तरण गर्नु उपयुक्त हुने बताए।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अङ्कुर पौडेलका अनुसार दैनिक एक हजार ५०० भन्दा बढी बिरामी आउने अस्पतालमा पूर्वाधार अभावका कारण सेवा विस्तार गर्न कठिनाइ भइरहेको छ। सभाहल प्राप्त भए नर्सिङ कलेज सञ्चालन तथा स्वास्थ्य सेवा विस्तारमा सहयोग पुग्ने अस्पतालले जनाएको छ।