श्रीलंका र डेनमार्कमा प्रस्तावित सुनुवाइ राजदूतको
संसदीय सुनुवाइ समितिले श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ गरेको छ ।शुक्रबार सिंहदरवारमा बसेको समितिको बैठकले श्रीलंकाको लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कको लागि प्रस्तावित राजदूत प्रा.डा. रामस्वार्थ राय विरुद्धमा परेका उजुरीमाथि सुनुवाइ गरेको हो ।समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित राजदुतविरुद्ध उजुरी परेकोले स्पष्टीकरण सोधिएको बताए ।
उनले प्रस्तावित राजदूतबाट प्राप्त कागजात अध्ययन कार्यदललाई बुझाएको र उनीहरुविरुद्ध परेको उजुरीको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ९ गतेसम्ममा जवाफ दिन माग गरेको बताए ।
‘वासुदेव मिश्रको सम्बन्धमा परेको उजुरीको सम्बन्धमा हामीले शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग सोधेका छौँ । रामस्वार्थ रायजीको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि हामीले पत्र लेखेका छौँ । ९ गते समय तोकेर जवाफ दिन भनेका छौँ’ उनले भने ।
समितिको बैठकमा बोल्दै डेनमार्कका लागि प्रस्तावित राजदूत प्रा. डा. रामस्वार्थ रायले राजदूत बनेपछि नेपालमा पुनः डेनमार्कको राजदूतावास स्थापित गर्न पहल गर्ने बताए ।
उनले नेपाल र डेनमार्कबीचको सम्बन्ध थप प्रगाढ बनाउने, नेपालको जलविद्युत तथा वैदेशिक उर्जाको क्षेत्रमा निजी, सामुदायिक, पार्टनरसीप पीपीपी मोडेलमा लगानी प्रवर्द्धन गर्ने तथा प्रविधिको क्षेत्रमा सहजीकरण गर्ने बताए ।