नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकविरुद्ध अख्तियारको मुद्दा
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्राथमिक तहको शिक्षक पदमा नियुक्त भई लाभ तथा सुविधा लिएको आरोपमा एक शिक्षकमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
आयोगले बाराको सुवर्ण गाउँपालिका–६ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, मझरियामा कार्यरत शिक्षक धर्मेन्द्रप्रसाद यादवविरुद्ध शुक्रबार आरोपपत्र दायर गरेको हो ।
शिक्षक यादवले शिक्षण पेसामा प्रवेश गर्दा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा यादवले बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको देखिने इन्टरमिडिएट तह (आईए) को झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी अभिलेखमा राखेको पुष्टि भएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार नक्कली प्रमाणपत्रका आधारमा राष्ट्रसेवक कर्मचारीका रूपमा प्राथमिक तहको शिक्षक पदमा कार्यरत रही पद, ओहोदा, लाभ तथा सुविधा प्राप्त गरेको देखिएको छ ।
सोही कसुरमा यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद तथा जरिवानाको सजाय मागदाबीसहित आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।