घोप्टेभीरमा दैनिक पाँच घण्टा सडक बन्द हुने
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाडौँ सडकखण्डको घोप्टेभीरमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार सूचना जारी गर्दै शनिबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि दैनिक बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सडक बन्द गर्ने जानकारी दिएको हो ।
प्रशासनका अनुसार सडकको माथिल्लो भागबाट निरन्तर ढुङ्गा तथा माटो खसिरहेको र पहिरोको उच्च जोखिम रहेकाले जोखिमयुक्त क्षेत्रलाई माथिबाटै काटेर सडक सुरक्षित बनाउन लागिएको हो ।
उक्त कार्यका क्रममा सम्भावित दुर्घटना तथा मानवीय क्षति हुन नदिन सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।
सडक बन्द हुने समयमा यात्रा गर्ने सवारीसाधन तथा यात्रुलाई समय व्यवस्थापन गरी यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेको छ ।