काठमाडौँ र झापाबाट खैरो हेरोइनसहित तीन जना पक्राउ
काठमाडौँ र झापाबाट प्रहरीले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट १०२ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको गोलान्जोर गाउँपालिका–३ का २९ वर्षीय दिपेश थापा र बझाङको सुर्मा गाउँपालिका–३ का २६ वर्षीय सञ्जय बोहरा रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले शुक्रबार ना.५७ प ७५०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारेको थियो ।
त्यसैगरी, झापाको अर्जुनधारा नगरपालिका–११ बाट ९ सय मिलिग्राम खैरो हेरोइनसहित २९ वर्षीय भुपेश उराव पक्राउ परेका छन् । सोही स्थानका बासिन्दा उनलाई शुक्रबार दिउँसो अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो । प्रहरीले तीनै जनामाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।