एनपिएलमा आज दुई खेल हुँदै, प्लेअफअघिको अंक तालिकाको समीकरण टुंगिने
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई खेल हुँदैछन्। लिग चरणको अन्तिम खेलसँगै प्लेअफअघि अंक तालिकाको अन्तिम समीकरणसमेत टुंगिनेछ।
आजको पहिलो खेलमा दिउँसो साढे १२ बजे चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। चितवन राइनोज अंक तालिकाको चौथो स्थानमा रहँदै यसअघि नै प्लेअफमा पुगिसकेको छ। यता कर्णाली याक्स भने प्लेअफ दौडबाट बाहिरिइसकेको छ। टोली हाल अंक तालिकाको सातौँ स्थानमा रहेको छ।
त्यस्तै, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स भिड्नेछन्। काठमाडौं गोर्खाजले पनि प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। टोली हाल अंक तालिकाको तेस्रो स्थानमा छ भने पोखरा एभेन्जर्स अंक तालिकाको पुछारमा रहेको छ।
आज हुने दुवै खेलको नतिजाले लिग चरणको अन्तिम अंक तालिका निर्धारण गर्नेछ। यससँगै प्लेअफमा पुगिसकेका टोलीहरूको अन्तिम स्थान र आगामी चरणको प्रतिस्पर्धाको समीकरणसमेत स्पष्ट हुनेछ।