पर्सामा सशस्त्र प्रहरीद्वारा १६ लाखभन्दा बढीको अवैध सामान बरामद
सशस्त्र प्रहरी बल, नेपाल पर्साले भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइएका रु १६ लाखभन्दा बढी मूल्यका विभिन्न सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्सा तथा मातहतका कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानमा चेकजाँच तथा खानतलासी गर्ने क्रममा उक्त सामान बरामद गरेको हो।
सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीका अनुसार भारतबाट विभिन्न सवारीसाधनमा लोड गरी भन्सार छली नेपालतर्फ ल्याउँदै गरेका सामान बरामद गरी आवश्यक प्रक्रिया पूरा गरेर वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
सशस्त्र प्रहरीले रु एक लाख ४३ हजार ४५१ बराबरको भिटामिन औषधि बरामद गरेको छ। त्यसैगरी, बिन्दवासिनी गाउँपालिका–३ झौवागुठीस्थित बीओपी अमरपट्टीबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको रु एक लाख १० हजार बराबरको कपडा बरामद गरी वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको छ।
त्यस्तै, बारा र पर्सा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको एक छाप्रोमा भन्सार छली ल्याइएका कपडा लुकाइछिपाइ राखिएको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्सा र नं. १२ गण हेडक्वार्टर बाराबाट खटिएको संयुक्त टोलीले खानतलासी गरेको थियो। सो क्रममा रु नौ लाख ७० हजार बराबरको कपडा बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ।
यसैगरी, मातहतका कार्यालयबाट खटिएका टोलीले विभिन्न स्थानबाट रु चार लाख पाँच हजार ५९० बराबरका मोटरसाइकल, औषधि, तरकारी, जुत्ता, अगरबत्ती, नरिवललगायतका सामान बरामद गरेका छन्। ती सामानसमेत आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यस्तै, बीओपी प्रसौनीभाठ्ठाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको रु १२ हजार बराबरको ६० लिटर घरेलु मदिरा बरामद गरेको छ। बरामद मदिरा आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई तीव्रता दिएको जनाएको छ।