आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
सूर्यदेवको आराधना, उपासना र पूजाआजासहित मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म मनाइने यो पर्व शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको हो।
छठ पर्वमा व्रतालुहरू नदी, तलाउ, पोखरी तथा जलाशयका किनारमा पुगेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने गर्छन्। यस पर्वमा विशेषगरी सूर्यदेव र छठी माताको पूजा आराधना गरिन्छ।
ऐतिहासिक तथा पौराणिक मान्यताअनुसार छठ पर्वको सम्बन्ध महाभारतकालसँग पनि जोडिएको छ। महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा आफ्नो गुप्तवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेका थिए। त्यसबेला पाण्डवहरू विराट राजाको दरबारमा बसेको उल्लेख छ। लोकविश्वासअनुसार त्यही समयदेखि छठ पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ।
त्यस्तै, सूर्य पुराणअनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेकी थिइन्। व्रतको प्रभावले उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको धार्मिक विश्वास छ। यही घटनापछि छठ पर्व मनाउने परम्पराको सुरुआत भएको सूर्य पुराणमा उल्लेख गरिएको पाइन्छ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यको ऊर्जामा आधारित रहेको मानिन्छ। सूर्यको प्रकाश र तापबिना वनस्पति, प्राणी तथा जीवजन्तुको अस्तित्व सम्भव छैन। त्यसैले प्रकृति, जीवन र ऊर्जाको प्रमुख स्रोतका रूपमा सूर्यलाई विशेष महत्त्व दिइँदै आएको छ।
पौराणिक कथनअनुसार भगवान् श्रीकृष्णका पुत्र साम्ब महर्षि दुर्वासाको श्रापका कारण कुष्ठरोगबाट पीडित भएका थिए। सूर्यदेवको आराधना गरेपछि उनी रोगमुक्त भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।
छठ पर्वमा श्रद्धापूर्वक व्रत तथा पूजा आराधना गरे दुःख, कष्ट र दरिद्रताबाट मुक्ति मिल्ने जनविश्वास छ। यस अवसरमा केरा, नरिवल, उखु, स्याउलगायतका फलफूल तथा विभिन्न पूजा सामग्री सूर्यदेवलाई अर्पण गरिन्छ। झुप्पा–झुप्पा फलफूल चढाउँदा सूर्यदेव प्रसन्न भई व्रतालुका परिवार तथा सन्तानको कल्याण हुने धार्मिक मान्यता छ।
व्रत बस्न नसक्ने व्यक्तिले भने आफ्नो मनोकामना पूरा होस् भन्ने कामनासहित व्रत बसेका अन्य व्यक्तिमार्फत पूजा तथा अर्घ्य अर्पण गराउने परम्परासमेत रहेको छ। श्रद्धा, आस्था, अनुशासन र पारिवारिक कल्याणको कामनासँग जोडिएको छठ पर्वले सामाजिक सद्भाव र धार्मिक एकतालाई समेत बलियो बनाउँदै आएको छ।