एनपीएल फाइनल प्रवेशका लागि सुदूरपश्चिम र चितवन भिड्दै
नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच दोस्रो क्वालिफायर खेल हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएपछि सुदूरपश्चिम दोस्रो अवसर सदुपयोग गर्दै फाइनल पुग्ने लक्ष्यमा छ। यता, चितवनले बुधबार भएको एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।
एलिमिनेटरमा चितवनले कमिल मिशाराको अविजित १२० र रवि बोपाराको ५३ रनको मद्दतमा २० ओभरमा २०४ रन बनाएको थियो। जवाफमा काठमाडौं १४३ रनमै समेटिएको थियो।
लगातार दुई सिजन उपविजेता बनेको सुदूरपश्चिम तेस्रो पटक फाइनल पुग्ने लक्ष्यमा छ भने चितवन पहिलो पटक उपाधि नजिक पुग्ने दाउमा मैदान उत्रनेछ।