जयबागेश्वरीबाट सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा एक जना पक्राउ
काठमाडौंको जयबागेश्वरीस्थित एक घरबाट सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंका दीपेश डङ्गोल रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घरमा चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले स्कुटरमा सवार रहेका डङ्गोललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए।
पक्राउपछि डङ्गोलको कोठामा खानतलासी गर्दा चोरीका विभिन्न सुन तथा चाँदीका गरगहनासहित नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ। उनको कोठाबाट भारतीय रुपैयाँ १६ हजार ७१६ र नेपाली रुपैयाँ ४१ हजार फेला परेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार बरामद गरिएका गरगहना तथा नगद चोरीको घटनासँग सम्बन्धित रहेका छन्।
डङ्गोलविरुद्ध चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता थापाले जानकारी दिए।