मकवानपुर सुमो दुर्घटना : मृत्यु हुने दुई जनाको सनाखत, एकको परिचय खुल्न बाँकी
मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेमा भएको सुमो दुर्घटनामा मृत्यु भएका तीन जनामध्ये दुई जनाको सनाखत भएको छ भने एक जनाको परिचय खुल्न बाँकी रहेको छ।
मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–३ का ५० वर्षीय बमबहादुर वाइबा र वडा नम्बर ४ की २२ वर्षीया जेसिका तिमिल्सिना रहेका छन्। अर्का मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिएका छन्।
रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो बुधबार बिहान करिब ८ः३५ बजे हेटौँडा–भैँसे सडकखण्डको घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको थियो।
दुर्घटनामा चालकसहित १० जना घाइते भएका थिए। उनीहरूलाई उद्धार गरी हेटौँडा अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा बिहान ९ः२० बजे चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा घाइते भएका अन्य सात जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।