एनपीएल दोस्रो क्वालिफायर आज : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र चितवन भिड्दै
नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि आज बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच दोस्रो क्वालिफायर खेल हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रनेछन्। यस खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
लुम्बिनी लायन्सले पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै यसअघि नै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। अंक तालिकाको दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको सुदूरपश्चिम पराजित भएपछि फाइनल प्रवेशको अर्को अवसरका रूपमा दोस्रो क्वालिफायर खेल्न लागेको हो।
यता, चितवन राइनोजले बुधबार भएको एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो।
एलिमिनेटरमा पहिले ब्याटिङ गरेको चितवनले कमिल मिशाराको अविजित १२० रन र रवि बोपाराको ५३ रनको उत्कृष्ट प्रदर्शनमा निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०४ रनको विशाल योगफल बनाएको थियो। २०५ रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाज रिजन ढकालको चार र उसामा मिरको तीन विकेटको घातक बलिङसामु १४३ रनमै समेटिएको थियो।
एलिमिनेटरमा उत्कृष्ट प्रदर्शन गरेको चितवन सोही लयलाई निरन्तरता दिँदै पहिलोपटक एनपीएलको फाइनलमा पुग्ने योजनामा छ। अर्कोतर्फ, पहिलो क्वालिफायरको हार बिर्साउँदै सुदूरपश्चिम पुनरागमन गर्ने लक्ष्यमा हुनेछ।
सुदूरपश्चिम लगातार दुई सिजनको उपविजेता टोली हो। पहिलो सिजन जनकपुर बोल्ट्स र दोस्रो सिजन लुम्बिनी लायन्ससँग फाइनलमा पराजित भएको सुदूरपश्चिम यसपटक तेस्रो प्रयासमा उपाधि जित्ने लक्ष्यमा छ।
त्यसैले आजको खेल चितवनका लागि पहिलोपटक फाइनल पुग्ने अवसर हो भने सुदूरपश्चिमका लागि लगातार तेस्रोपटक उपाधि यात्रालाई निरन्तरता दिने निर्णायक परीक्षा हुनेछ।