एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ ।
लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै फाइनल पुगेको हो । सुदूरपश्चिमले भने दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
लगातार तेस्रोपटक फाइनल पुगेको सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा छ भने लुम्बिनी लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा रहेको छ ।
फाइनलको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ८० लाख रुपैयाँ पाउनेछ । त्यस्तै, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ ।