प्रचण्डलाई स्वागत गर्न विमानस्थल पुगेका प्राधिकरणका वरिष्ठ अधिकृत पक्राउ
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पुगेका नेपाल नागरिक उड्डयन प्राधिकरणका एक वरिष्ठ अधिकृत पक्राउ परेका छन् ।
रुसको मस्कोमा आयोजित विश्व सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किएका प्रचण्डलाई विमानस्थलको भीआईपी कक्षमा स्वागत गर्ने क्रममा प्राधिकरणका वरिष्ठ अधिकृत सुवास कोइराला पक्राउ परेका हुन् ।
चितवन घर भई हाल महाराजगन्जमा बस्दै आएका ४५ वर्षीय इलेक्ट्रिक इन्जिनियर कोइरालालाई गृहमन्त्री सुधन गुरुङको ठाडो आदेशमा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
सोही दिन संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजित विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी भएर गृहमन्त्री गुरुङ पनि एउटै विमानबाट काठमाडौँ फर्किएका थिए । विमानस्थलमा प्रचण्डलाई स्वागत गर्न नेकपाका नेताहरू अग्नि सापकोटा, पम्फा भुसाल र देव गुरुङसँगै कर्मचारी कोइराला पनि लाइनमा उभिएको देखेपछि गृहमन्त्री गुरुङ आक्रोशित बनेको स्रोतको भनाइ छ ।
सरकारी कर्मचारी राजनीतिक दलका नेताको स्वागतमा लाइनबद्ध भएको भन्दै गृहमन्त्रीले तत्काल कोइरालालाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएका थिए । त्यसपछि सुरक्षाकर्मीले उनलाई पक्राउ गरी प्रहरी वृत्त गौशाला पुर्याएका थिए ।
प्रहरी वृत्त गौशालाको अपराध अनुसन्धान शाखामा दिनभर सोधपुछ गरेपछि कोइरालालाई बिहीबार साँझ रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक प्रहरी अधिकृतले पुष्टि गरेका छन् ।
सरकारी कर्मचारीले पदीय मर्यादाविपरीत राजनीतिक नेतृत्वको स्वागत गरेको भन्दै गृहमन्त्री गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महानिर्देशकसँग समेत असन्तुष्ट बनेको बताइएको छ ।
गृहमन्त्री गुरुङ नोभेम्बर १६ देखि १८ सम्म यूएईमा आयोजित विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका थिए ।