यूएस बङ्गला विमान दुर्घटना : एयरलाइन्सको रिट सर्वोच्चद्वारा खारेज
सर्वोच्च अदालतले यूएस बङ्गला एयरलाइन्सको विमान दुर्घटनाका पीडित परिवारले दायर गरेको क्षतिपूर्तिसम्बन्धी मुद्दाको कारबाही रोक्न माग गर्दै एयरलाइन्सले दायर गरेको रिट खारेज गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासले शुक्रबार रिट खारेज गर्ने फैसला गरेको हो ।
सन् २०१८ मार्च १२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा भएको विमान दुर्घटनामा मृत्यु भएका नेपालीका परिवारले २०७६ सालमा क्षतिपूर्तिको माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।
नेपालमा मुद्दा चलाउने अधिकारक्षेत्र नरहेको जिकिर गर्दै एयरलाइन्सले सर्वोच्चमा रिट दिएको थियो । तर सर्वोच्चले उक्त रिट खारेज गरेसँगै जिल्ला अदालतमा विचाराधीन क्षतिपूर्तिसम्बन्धी मुद्दाको कारबाही अघि बढ्ने बाटो खुलेको छ ।
यसअघि काठमाडौँ जिल्ला अदालतले दुर्घटनाका पीडित परिवारलाई अन्तर्राष्ट्रिय सन्धि ‘वार्सा कन्भेन्सन, १९२९’ अनुसार क्षतिपूर्ति उपलब्ध गराउन फैसला गरिसकेको छ ।