पारिश्रमिक माग्न जाँदा एम्बुलेन्स चालकलाई कुटपिट गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ
हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही एम्बुलेन्स चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका छन् । गाउँपालिकाको एम्बुलेन्स चालकका रूपमा कार्यरत चंखेली गाउँपालिका–४ निवासी पृथ्वीबहादुर सिंहलाई कुटपिट गरेको आरोपमा प्रहरीले अध्यक्ष शाहीलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी जङ्गबहादुर सिंहका अनुसार बिहीबार अध्यक्ष शाहीले चालक सिंहमाथि कुटपिट गरेका थिए । लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै चालक सिंह रकम माग्न अध्यक्ष शाहीकहाँ पुगेका बेला घटना भएको बताइएको छ ।
सिंह विगत ५–६ वर्षदेखि गाउँपालिकाको एम्बुलेन्स चालकका रूपमा कार्यरत थिए । पारिश्रमिक माग्न जाँदा कुटपिटबाट घाइते भएका सिंहलाई उपचारका लागि जिल्ला अस्पताल हुम्ला लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि उनलाई नेपालगन्ज पठाइएको सूचना अधिकारी सिंहले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।