धादिङमा बोलेरो दुर्घटनामा परी एक जनाको मृत्यु
धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
प्राप्त जानकारीअनुसार, गए राति १ः५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको बोलेरो उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा गाडीमा सवार १० जनामध्ये रुबीभ्याली गाउँपालिका–४ की अन्दाजी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।