मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
मलेसिया जाने नेपाली श्रमिकमाथि ठगी गरी गैरकानुनी रूपमा रकम विदेश पठाइएको प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल अनुसन्धानमा तानिएका छन्। उनीविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ पुर्जी जारी गराएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव हुँदा बेस्टिनेट कम्पनीलाई गैरकानुनी रूपमा रकम विदेश पठाउन अनुमति दिने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा उनीमाथि अनुसन्धान अघि बढाइएको हो।
अर्याल २०७९ सालमा शेरबहादुर कुँवर श्रममन्त्री रहेका बेला मन्त्रालयको सचिव पदमा कार्यरत थिए। सोही समयमा सहसचिव र सचिव हुँदै मन्त्रीसमक्ष प्रस्ताव पेस गरी कम्पनीलाई रकम विदेश पठाउने निर्णय भएको अनुसन्धानमा खुलेको बताइएको छ।
यसै प्रकरणमा प्रहरीले दुई पूर्वश्रममन्त्रीसहित मन्त्रालयका तत्कालीन उच्च अधिकारी गरी ६ जनालाई पक्राउ गरिसकेको छ। उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।