राष्ट्रिय कर दिवसमा १९ व्यक्ति तथा कम्पनी सम्मानित, भाटभटेनीलाई विशेष सम्मान
सरकारले आर्थिक वर्ष २०८१/८२ मा बढी कर तिर्ने १९ व्यक्ति तथा कम्पनीलाई सम्मान गरेको छ।
राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले मंगलबार विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्मानित व्यक्ति तथा कम्पनीका प्रतिनिधिलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे।
बढी आयकर दाखिला गर्ने कम्पनीतर्फ सूर्य नेपाल प्रालि सम्मानित भएको छ भने एकलौटी फर्मतर्फ थर्ड आई सम्मानित भएको छ। वस्तु निर्याततर्फ डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेवातर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिस प्रालि र कृषि तथा पशुपन्छीजन्य कारोबारतर्फ ओसिबी एन्ड फुड्स फिड्स प्रालि सम्मानित भएका छन्।
त्यस्तै, बैंकिङ क्षेत्रमा नबिल बैंक, स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन क्षेत्रमा सोल्टी होटल र वस्तु व्यापारतर्फ सिजी इम्पेक्स प्रालि सम्मानित भएका छन्।
५० करोडदेखि १०० करोड रुपैयाँसम्म कारोबार गर्ने कम्पनीतर्फ फुड एन्ड बेभरेज टेक्नोलोजी, ऊर्जा उद्योगतर्फ भोटेकोसी हाइड्रोपावर र रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ आईएमई लिमिटेड सम्मानित भएका छन्। व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर दाखिला गर्ने राजबहादुर शाह सम्मानित भएका छन्।
त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ देखि २०८२/८३ सम्म बढी मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नेमा हिमालयन डिस्टिलरी लिमिटेड सम्मानित भएको छ। ५० करोड रुपैयाँसम्म वार्षिक कारोबार गर्ने करदातातर्फ इम्पेरियल सेक्युरिटिज, विशेष उद्योगतर्फ वरुण बेभरेज, जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन, निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर र लघुवित्ततर्फ छिमेक लघुवित्त सम्मानित भएका छन्।
सोही अवसरमा मुलुकको राजस्वमा उच्च योगदान पुर्याएको भन्दै भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरलाई विशेष सम्मान गरिएको छ।