रुसी सैन्य विमानले हवाई क्षेत्र उल्लङ्घन गरेपछि जापानद्वारा लडाकु विमान परिचालन
दुई संदिग्ध रुसी सैन्य विमानले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेपछि जापानले लडाकु विमान परिचालन गरेको छ । घटनाप्रति जापानले रुससँग कूटनीतिक विरोधसमेत जनाएको छ ।
जापान सरकारका प्रवक्ता मिनोरु किहाराका अनुसार मङ्गलबार बिहान फुकुओकाको दक्षिणपश्चिममा रहेको ओकिनोसिमा टापुनजिकै रुसी विमान जापानी हवाई क्षेत्रमा प्रवेश गरेका थिए । त्यसपछि जापानको आत्मरक्षा बलले ती विमानलाई चेतावनी दिन लडाकु विमान पठाएको थियो ।
जापानले उक्त घटनालाई आफ्नो सार्वभौमिकता र राष्ट्रिय सुरक्षामाथिको गम्भीर चुनौती भन्दै यस्ता गतिविधि नदोहोर्याउन रुसलाई आग्रह गरेको छ ।
यसैबीच, दक्षिण कोरियाले पनि आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रुसी विमानको निगरानीका लागि लडाकु विमान परिचालन गरेको जनाएको छ । यद्यपि, ती विमानले दक्षिण कोरियाको सार्वभौम हवाई क्षेत्र उल्लङ्घन नगरेको सियोलले स्पष्ट पारेको छ ।
युक्रेन युद्धपछि जापान र रुसबीचको सम्बन्ध थप तनावपूर्ण बन्दै आएको छ ।