दाङमा पेट्रोल छर्केर आगो लगाइएका ४९ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु
दाङको राजपुर गाउँपालिकामा पेट्रोल छर्केर आगो लगाइएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । राजपुर गाउँपालिका–२ निवासी ४९ वर्षीय रुपलाल चौधरीको आइतबार बिहान नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढाथोकीका अनुसार आगलागीबाट चौधरीको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो ।
प्रहरीका अनुसार शनिबार दिउँसो राजपुर गाउँपालिका–२ खालगैरामा सोही ठाउँका ३८ वर्षीय त्रिलोक सिंह कार्कीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर चौधरीको शरीरमा छर्की आगो लगाएका थिए । घटनापछि फरार भएका कार्कीलाई प्रहरीले खोजतलासका क्रममा लमही नगरपालिका–५ रातोडाँडाबाट नियन्त्रणमा लिएको थियो ।
गम्भीर घाइते चौधरीलाई तत्काल लमही अस्पताल पुर्याइएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज रिफर गरिएको थियो । घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका कार्कीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।